काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै दोषी प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्न सकिने बताएका छन्। आफूले गरेको भनिएको गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने उनको भनाइ छ।
सुनारले आफूमाथि छानबिन हुनुपर्ने विषयमा स्पष्ट धारणा राख्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय एक महिलामाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट भइरहेको भनिएको प्रचार तथा टिप्पणीप्रति आपत्ति जनाएका छन्।
उनले ती महिलामाथि अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गर्नु अनुचित भएको उल्लेख गर्दै आफूलाई कारबाही गरिए स्वीकार्य हुने तर महिलामाथिको दुर्व्यवहार स्वीकार्य नहुने बताएका छन्।
सुनारले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ती महिलालाई पटकपटक बोलाएको तथा आफूहरू दुवैलाई सिध्याउने धम्की दिइएको दाबीसमेत गरेका छन्। उनले आफूमाथिका आरोपको सत्यतथ्य छानबिन गरी कानुनी प्रक्रियाअनुसार निर्णय गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।














