काठमाडौं, २८ असोज । गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।
भारतको नयाँदिल्लीमा आयोजित गृह मन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन पुगेका गुरुङले बुधबार जयशंकरसँग भेट गरेका हुन्। जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत भेटबारे जानकारी दिए पनि छलफलका विषय विस्तृत रूपमा सार्वजनिक गरिएको छैन।
भेटमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तरदेशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारीमा नेपाल–भारत सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
साथै, गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। तीनदिने भारत भ्रमण पूरा गरी गृहमन्त्री गुरुङ बुधबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।














