जनकपुर, ५ मंसिर । धनुषाको नगराइन नगरपालिका–२ निवासी शिवकुमार सादा प्रदेशस्तरीय बाल क्लब सञ्जालको अध्यक्षमा निर्वाचित भएका छन्। प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठनका क्रममा सादा अध्यक्ष पदमा चयन भएका हुन्।
यसअघि धनुषा जिल्ला बाल क्लब सञ्जालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका सादा आफ्नो अनुभव, सक्रियता र बालअधिकारका क्षेत्रमा गरेको योगदानका आधारमा प्रदेशस्तरीय नेतृत्वमा पुगेका हुन्।
बालबालिकाको हकहित, अधिकार संरक्षण, सहभागिता र नेतृत्व विकासलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो। यस सञ्जालले बालबालिकाका सवाललाई सम्बन्धित निकायसम्म पुर्याउने, उनीहरूको आवाजलाई संस्थागत गर्ने तथा बालमैत्री नीति र कार्यक्रम निर्माणमा पैरवी गर्ने अपेक्षा गरिएको छ।
सादाको नेतृत्वमा प्रदेशभरिका बालबालिकालाई संगठित गर्दै उनीहरूको क्षमता विकास, सामाजिक सहभागिता र अधिकारका विषयमा थप प्रभावकारी काम हुने विश्वास गरिएको छ।
धनुषा जिल्लाबाट प्रदेशस्तरीय नेतृत्वमा पुग्न सफल भएका सादाको निर्वाचितले जिल्लाको बालअधिकार अभियानमा समेत सकारात्मक सन्देश दिएको छ।














