काठमाडौं, ५ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्यो। उसका ओपनर जर्ज मुन्सेले १२५ रनको विस्फोटक अविजित पारी खेले भने विनोद भण्डारी ३० रनमा अविजित रहे।
लगातार तीन संस्करण फाइनल पुग्ने सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। यसपटक भने लुम्बिनीसँग अघिल्ला खेलमा व्यहोरेको हारको बदला लिँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
यससँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन्। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको लुम्बिनीको सपना भने अधुरै रह्यो।
उपाधिसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनीले ८० लाख, तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पाएका छन्।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। लिग चरणका २८ र नकआउट चरणका चार गरी कुल ३२ खेल भएका थिए।














