काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।
नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आतङ्क, आगजनी र तोडफोडका आधारमा सरकार गठन गरिएको दाबी गरे।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले डरका कारण असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको आरोपसमेत लगाए। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि समयमै फैसला नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
ओलीले लोकतान्त्रिक संस्था र राज्यका निकायहरू कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै संविधान र लोकतन्त्रको रक्षाका लागि युवाहरू संगठित हुनुपर्ने बताए।














