काठमाडौं, ५ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन छुट्टाछुट्टै गराउनुपर्ने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र कानुनले निर्धारण गरेको कार्यकालअनुसार नै निर्वाचन हुनुपर्नेमा जोड दिए।
प्रचण्डका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले दुवै निर्वाचन एकैपटक गराउनु संविधानविपरीत हुनेछ।
संविधान र कानुनी व्यवस्थालाई मिचेर निर्वाचन गराउँदा राजनीतिक अस्थिरता र संवैधानिक संकट निम्तिन सक्ने चेतावनी दिँदै उनले सबै राजनीतिक दललाई जिम्मेवार बन्न आग्रह गरे।
उनले निर्वाचनमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग पनि महत्त्वपूर्ण बन्दै गएको भन्दै पार्टीले सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताए।














