काठमाडौं, २० कात्तिक । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट प्राप्त गरेको ऋण तथा उक्त रकम खर्च र भुक्तानी गरिएको प्रक्रियासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला सम्मिलित इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग ऋणको कुल रकम, भुक्तानीको अवस्था र किस्ताअनुसारको विवरण पेस गर्न भनेको हो ।
त्यस्तै, चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि पेस गरेका बिल तथा कागजात, हालसम्म प्राप्त गरेको रकम र अझै भुक्तानी हुन बाँकी रकमको विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।














