काठमाडौं, १९ कात्तिक । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा आज बिहान विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान तथा आफन्तको खोजी भइरहेको छ भने दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाइएको छ ।














