काठमाडौं, १९ कात्तिक । नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्दै उनको जीवन रक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै संघले आठ दिनदेखि २५औँ आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले तत्काल वार्ता गरी समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको हो ।
यस विषयमा थप छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालयमा पूर्वपदाधिकारी, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकसहित बैठक आयोजना गर्ने जनाएको छ । इलामबाट अनशन सुरु गरेका डा. केसी हाल काठमाडौंमा उपचाररत छन् ।














