जनकपुर, १९ कात्तिक । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ। भारतीय रेल्वेको दुई इञ्जिन र सात बोगी रहेको रेलले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था स्टेसनसम्म परीक्षण यात्रा गरेको हो।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाका अनुसार भारतीय रेल्वेका उच्च अधिकारीसहितको टोली रेल परीक्षण गर्दै बिहीबार बिहान ११ बजे कुर्था पुगेको थियो। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
परीक्षणका क्रममा रेलमार्गको अवस्था, सुरक्षा तथा प्राविधिक पक्षको निरीक्षण गरिएको थियो। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी झा, प्रहरी उपरीक्षक रुपेश खड्कालगायत नेपाली अधिकारी पनि सहभागी थिए।
रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार सेवा सञ्चालनको मिति र व्यवस्थापनको मोडालिटी भने टुंगिएको छैन। सञ्चालन, मर्मतसम्भार, सुरक्षा तथा प्रशासनिक तयारी पूरा भएपछि मात्रै रेल सेवा सुरु गरिनेछ। प्रारम्भिक चरणमा भारतीय रेल नै सञ्चालन हुने र नेपालको क्षेत्रभित्रको व्यवस्थापन नेपाली पक्षले गर्ने तयारी छ।
जनकपुरधामलाई भगवान् रामको नगरी अयोध्यासँग प्रत्यक्ष रेलमार्गबाट जोड्दा धार्मिक पर्यटन र दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। विशेषगरी रामायण सर्किटअन्तर्गत तीर्थयात्रीको आवागमन सहज हुनुका साथै जनकपुरधामको व्यापार तथा व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको विश्वास छ।














