काठमाडौँ, २ मंसिर । नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले आगामी स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गरेर प्रतिस्पर्धा गर्न पाउने वा नपाउने विषयमा निर्वाचन आयोगसँग परामर्श गरेको छ।
स्थानीय निर्वाचनको तयारी तथा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिन सकिने कानुनी व्यवस्थाबारे जानकारी लिन मोर्चाका प्रतिनिधिहरू बुधबार निर्वाचन आयोग पुगेका हुन्।
जनता समाजवादी पार्टी नेपालका महासचिव डा. सुरेन्द्र झाले मोर्चामा आबद्ध दलहरूले एउटै दलको चुनाव चिह्न प्रयोग गर्न पाउने वा नयाँ चुनाव चिह्न लिनुपर्ने विषयमा आयोगसँग छलफल गरिएको जानकारी दिए।
उनका अनुसार आयोगले यस विषयमा प्रचलित कानुनी व्यवस्था अध्ययन गरेपछि मात्रै स्पष्ट सुझाव दिन सकिने जनाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न सकिने व्यवस्था भए पनि स्थानीय तह निर्वाचनका हकमा यस्तो व्यवस्था स्पष्ट नभएको आयोगले जनाएको छ।














