वीरगन्ज, २ मंसिर । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।
शिशुको मृत्यु चिकित्सक तथा नर्सको लापरबाहीका कारण भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले अस्पतालको मुख्य गेट बन्द गरी प्रदर्शन गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी स्वास्थ्यकर्मीमाथि कारबाही गर्न माग गरेका छन् ।
घटनापछि अस्पताल परिसरमा आफन्त तथा स्थानीयको भीड जम्मा भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्सा प्रहरीका प्रवक्ता सञ्जीवबाबु खड्काका अनुसार घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवारका सदस्यहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थिति नियन्त्रणमा लिन तथा विवाद समाधान गर्न प्रहरी र अस्पताल प्रशासनबीच छलफल भइरहेको उनले जानकारी दिएका छन् ।














