जनकपुर, ८ असोज । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका माननीय प्रतिनिधिहरू, पार्टीका अग्रज नेता तथा कार्यकर्ता, घण्टीप्रेमी, शुभेच्छुक र सर्वसाधारणको सहभागिता रहेको थियो। पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले एकअर्कालाई शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता र सहकार्यको भावना साटासाट गरेका थिए।
चाडपर्वले समाजमा आपसी भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले विजया दशमी, दीपावली तथा छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गरेका थिए। साथै, चाडपर्वका माध्यमबाट समाजमा एकता र सहकार्यको वातावरण अझ बलियो बनाउने सन्देशसमेत प्रवाह गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन, सुशासन र समृद्धिको अभियानलाई आफ्नो मूल उद्देश्यका रूपमा अघि बढाउँदै आएको सन्देशसहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ।














