काठमाडौं, ८ कात्तिक । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक आकलनअनुसार २९ जिल्लामा बढी प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम विश्लेषकहरूका अनुसार कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ।
वर्षाका कारण तराईमा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली भेगमा हिमपातको जोखिम हुन सक्ने बताइएको छ। मनाङसहित हिमाली जिल्लामा विशेष सतर्कता आवश्यक रहेको मौसमविद्हरूको भनाइ छ।
मौसमविद् डा. धर्मराज उप्रेती र उज्ज्वल उपाध्यायले सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै लामो दूरीको यात्रा, हिमाली पदयात्रा तथा धान काट्ने र भित्र्याउने काम केही दिनका लागि स्थगित गर्न सुझाव दिएका छन्। पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा पनि सावधानी अपनाउन आग्रह गरिएको छ।
यद्यपि, यो प्रारम्भिक पूर्वानुमान भएकाले वर्षाको मात्रा र प्रभावित हुने क्षेत्र परिवर्तन हुन सक्ने जनाइएको छ। सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ।














