काठमाडौं, ८ असोज । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
आइतबार दिउँसो धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
भोजपुरबाट बराहक्षेत्रतर्फ जाँदै गरेको मोटरबोटमा १४ जना सवार थिए। दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
उद्धारका लागि गोताखोरसहित सशस्त्र प्रहरीका विभिन्न टोली घटनास्थलमा खटिएका छन्। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।














