काठमाडौं, ३ कार्तिक । बडादशैँको अवसरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ। महाअष्टमी तिथि दुई दिन परेकाले यस वर्ष महानवमीको पूजा दसौँ दिनमा गरिएको हो।
धार्मिक मान्यताअनुसार सिद्धिदात्री देवीको पूजा गरेमा मनोकामना पूरा हुनुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रको अन्तिम दिन देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
वर्षमा एक दिन मात्रै खुल्ने काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर पनि आज भक्तजनका लागि खुला गरिएको छ। मन्दिरमा दर्शन गर्नेको लामो लाइन लागेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नौ दिनसम्म पूजा गरिएको देवीको विसर्जन कात्तिक ४ गते बिहान ८:४९ बजे गरिनेछ। सोही दिन बिहान १०:२६ बजेको साइतमा टीका लगाउन सकिनेछ। त्यसपछि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ।














