जनकपुर,३ कार्तिक । सडक दुर्घटना न्यूनीकरण तथा सवारी चालकलाई ट्राफिक नियमप्रति सचेत गराउने उद्देश्यले धनुषामा संयुक्त चेकिङ अभियान सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल धनुषाका कार्यालय प्रमुख प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालको संयुक्त नेतृत्वमा खटिएको चेकिङ टोलीले सवारी साधन जाँच गर्नुका साथै हेल्मेट नलगाई मोटरसाइकल चलाउने चालकलाई सम्झाइबुझाइ गरेको छ।
चेकिङका क्रममा हेल्मेट नलगाई सवारी चलाइरहेका चालकलाई हेल्मेट प्रयोगको महत्त्वबारे जानकारी दिँदै ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको थियो। सवारी दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य र महत्त्वपूर्ण रहेको सन्देशसमेत प्रवाह गरिएको थियो।
टोलीले चालकलाई कारबाहीमा मात्र सीमित नराखी सचेतनामूलक व्यवहार अपनाउँदै हेल्मेट नलगाएका केही चालकलाई हेल्मेट उपहारसमेत प्रदान गरेको थियो। यस पहलले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्नुका साथै सुरक्षित यात्राप्रति जिम्मेवार बन्न सकारात्मक सन्देश दिएको छ।
मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लाग्ने जोखिम कम गर्न हेल्मेटको प्रयोग महत्त्वपूर्ण मानिन्छ। त्यसैले सवारी चलाउँदा हेल्मेट लगाउने, तीव्र गतिमा सवारी नचलाउने, ट्राफिक संकेतको पालना गर्ने र सडक सुरक्षाका नियमलाई व्यवहारमा उतार्ने विषयमा प्रहरीले जोड दिएको छ।
प्रहरीको यस्तो सचेतनामूलक अभियानले चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउन तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक सुरक्षा प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएकाले सवारी चालक, यात्रु तथा सर्वसाधारण सबैले नियमको पालना गर्न आवश्यक छ।














