काठमाडौं, ३ असोज । नवदुर्गा भगवतीको विशेष पूजाआराधना गर्दै आज देशभर महानवमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्छ।
महानवमीका अवसरमा दशैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिन राखिएको जमरा चढाइन्छ। कतिपय स्थानमा बोका, राँगा, हाँस र कुखुराको बलि दिने चलन छ भने शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल चढाएर पूजा गर्ने गर्छन्।
नवरात्रको अन्तिम दिन नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। साथै, कन्यालाई देवीको प्रतीक मानेर पूजा तथा दक्षिणा दिने परम्परा पनि छ।
महानवमीका दिन हनुमानढोका दरबारसहित नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित कोतपूजा र निशानापूजा गर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार यस दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्वका साथ लिइन्छ।














