सुनसरी, २ कात्तिक । सुनसरी प्रहरीले एम्बुलेन्समा लुकाएर लैजाँदै गरिएको ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ।
प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेटसमेत बरामद गरी एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
सोही क्रममा दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो। एम्बुलेन्सका चालक र तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्।
यसैगरी, भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको बीआर ३८ एजे ७३१२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले अन्सारीलाई मोटरसाइकलसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा राखेको छ। एम्बुलेन्सको वास्तविकता र दुवै घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














