काठमाडौं, २ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो।
ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै २८० रन बनाएको थियो। २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि रोहितकुमार पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए। ओमानका साह फैसलले ५ विकेट लिए।
ओमानको ब्याटिङमा जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान २ विकेट लिए भने सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे।
जितसँगै नेपाल लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको छ। ३६ खेल खेलेको नेपालले १४ जित, २० हार र २ बराबरीबाट ३० अंक जोडेको छ।














