काठमाडौं, २ असोज । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाहले युवा पुस्तासँग सम्बन्धित विभिन्न विषयमा सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासलाई प्रमुख विषय बनाइएको छ ।
अन्तरक्रियामा युवा पुस्ताका प्रतिनिधिका सुझाव, अपेक्षा र प्राथमिकताबारे छलफल गर्ने उद्देश्य रहेको जनाइएको छ । प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रभावकारी बनाउने, युवाका लागि रोजगारी तथा उद्यमशीलताको अवसर विस्तार गर्ने र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा विचार विमर्श भइरहेको छ ।
त्यस्तै, वातावरण संरक्षणसँगै दिगो विकासलाई अघि बढाउने विषयमा पनि छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।














