जनकपुर, २९ भदौ । राष्ट्रिय बाल दिवस २०२६ को अवसरमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिका र अभिभावकमा शुभकामना व्यक्त गरेका छन्।
मन्त्री तत्माले बालबालिका राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा, अधिकार र सर्वाङ्गीण विकास सुनिश्चित गर्नु सबैको साझा दायित्व रहेको बताएका छन्।
उनले प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र खुसी वातावरणमा हुर्कने अवसर पाउने गरी बालमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै उनले बालअधिकार संरक्षण र उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
यस वर्षको राष्ट्रिय बाल दिवसको सन्देश ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ रहेको छ।














