जनकपुर, २९ भदौ । । तराई–मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गर्दै चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ। छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने गर्छन्।
सूर्यास्तपछि घर–आँगन लिपपोत गरी चामलको पिठोबाट अरिपन बनाइन्छ। त्यसमा पूजा सामग्री राखेर गणेश र चन्द्रमाको आराधना गर्दै दही, केरा, मिठाई, खीर, पुरीलगायत प्रसाद चढाउने परम्परा छ।
चन्द्रमालाई अर्घ्य दिएपछि व्रतालुले प्रसाद ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रलाई बाँड्ने गर्छन्। परिवारको सुख, समृद्धि, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ मधेशमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ।
धार्मिक मान्यताअनुसार ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले चौठचन्द्र पर्वको सुरुवात गरेका थिए। नेपालका साथै भारतका केही राज्यमा पनि यो पर्व मनाउने गरिन्छ।














