काठमाडौं, २९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने बताएका छन्।
सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकार तथा दातृ निकायबाट प्राप्त स्रोत पुनःस्थापनामा परिचालन गरिने जानकारी दिए। उनले सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताए।
बाढीको जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भन्दै उनले सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको बताए।
नयाँ बस्तीमा रोजगारी, शिक्षा, स्वास्थ्य, खेतीयोग्य जमिन र स्थानीय संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रहसमेत गरे।














