काठमाडौं, १८ कात्तिक । सात दिनदेखि सत्याग्रहमा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन् ।
उनले शिक्षा तथा खेलकुदमन्त्री वा प्रधानमन्त्री सँग मात्रै वार्ता गर्ने अडान राखेका छन् । यसअघि भएका सहमति कार्यान्वयन नभएकाले अब उच्च तहबाटै वार्ता हुनुपर्ने उनको माग छ ।
बुधबार साँझ वार्ताका लागि त्रिवि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफ्ना सर्त सुनाउँदै फर्काएका हुन् । सरकारले बुधबार मात्रै वार्ता टोली गठन गरेको थियो ।
इलामबाट सत्याग्रह सुरु गरेका केसी स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएका हुन् । हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदै सत्याग्रह जारी राखिरहेका छन् ।














