काठमाडौँ, १३ मंसिर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।
आइतबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय युवा सम्मेलन (नेशनल युथ समिट) लाई सम्बोधन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विकृति, विसङ्गति र पुराना कमजोरी हटाउन कानुनी सुधार गर्न लागिएको जानकारी दिए।
उनले युवाको अपेक्षा र श्रमिकका समस्यालाई सम्बोधन गर्ने गरी सरकार नीति तथा कार्यक्रम निर्माणमा जुटेको बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकको हित संरक्षणलाई प्राथमिकता दिँदै आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाइने उनको भनाइ थियो।














