काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको बताएका छन्।
काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले केही दिनभित्रै लगानीसँग सम्बन्धित कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए।
कानुनी जटिलता हटेपछि उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनको भनाइ थियो। उनले क्षेत्रको विकासका लागि साङ्ला खोला करिडोर निर्माणलाई प्राथमिकतामा राखेको पनि बताए।
यसैबीच, मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको मिति अझै तय नभएको स्पष्ट पारे। भारत भ्रमणपछि चीन जाने चर्चा भए पनि भ्रमणको औपचारिक मिति निश्चित नभएको उनले बताए। परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमणको तयारी भने निरन्तर गरिरहेको उनको भनाइ छ।














