काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा सामाजिक काममार्फत पार्टीको उपस्थिति बलियो बनाउन ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियान सञ्चालन गर्ने भएको छ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेसलाई सामाजिक रूपान्तरणको अगुवा बनाउने उद्देश्यले स्थापनाकालीन सामाजिक कार्यशैलीलाई पुनः निरन्तरता दिन लागिएको बताए। उनले नेता तथा कार्यकर्तालाई सामाजिक काम गर्दा पार्टीको पहिचानसमेत जोड्न निर्देशन दिएका छन्।
अभियानअन्तर्गत आगामी पुसदेखि चैतसम्म चार महिनाको अवधिमा देशका सबै स्थानीय तहमा कम्तीमा एउटा सामाजिक परियोजना सञ्चालन गरिनेछ। यसमा विद्यालय निर्माण, विपन्नका लागि आवास, खानेपानी, वातावरण तथा सम्पदा संरक्षण, सीप विकास, कृषि प्रवर्द्धन र युवा रोजगारीका कार्यक्रम समेटिनेछन्।
परियोजनाका लागि आवश्यक स्रोत केन्द्रीय कार्यालयले व्यवस्थापन गर्नेछ। कार्यक्रमको प्रगति र परिणामका आधारमा नेता तथा कार्यकर्ताको सांगठनिक मूल्याङ्कनसमेत गरिने कांग्रेसले जनाएको छ।














