जनकपुर, १३ मंसिर । जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवको तयारीस्वरूप भारतको अयोध्याधाममा परम्परागत तिलकोत्सव समारोह सम्पन्न भएको छ।
आइतबार अयोध्यास्थित राम जन्मभूमिमा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहसहित पुगेको टोली र अयोध्याका मेयर महन्त गिरीशपति त्रिपाठी तथा राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका राजेन्द्रसिंह पंकजको उपस्थितिमा तिलकोत्सव गरिएको हो।
सो अवसरमा जनकपुरधामबाट तिलकोत्सवको कोसेलीसहित विवाहपञ्चमी महोत्सवको निमन्त्रणा अयोध्या पुर्याइएको थियो। नगरप्रमुख साहले राम–सीताको विवाहसँग जोडिएको नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन अयोध्यावासीलाई महोत्सवमा सहभागी हुन आग्रह गरे।
अयोध्याका मेयर त्रिपाठीले निमन्त्रणा स्वीकार गर्दै अयोध्याबाट जन्तीका रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
समारोहमा जानकी मन्दिर, विश्व हिन्दू परिषद् नेपाल, नागरिक समाज तथा सञ्चारकर्मीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।














