काठमाडौँ, १३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश जारी गर्नुअघि विषय विज्ञहरूसँग परामर्श गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयमा रहेका प्रेस काउन्सिल ऐन संशोधन, संस्कृति तथा पर्यटनलगायत केही नेपाल ऐन संशोधन र जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठनसम्बन्धी अध्यादेशबारे उनले विज्ञहरूको राय लिन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मुद्दाको छानबिन, मेलमिलाप तथा पीडितलाई क्षतिपूर्ति दिने प्रस्ताव कानुनी रूपमा कति उपयुक्त छ भन्ने विषयमा राष्ट्रपतिले परामर्श गर्न खोजेका छन्।
त्यस्तै, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाइरहेको छ। यस विषयमा पनि राष्ट्रपतिले विज्ञहरूको सुझाव लिन लागेको स्रोतले जनाएको छ।
सरकारले गत कात्तिक १७ गते दुईवटा अध्यादेश र मंसिर ४ गते जेनजी आन्दोलनसम्बन्धी आयोग गठन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तर, हालसम्म ती अध्यादेश जारी भएका छैनन्।














