काठमाडौं, ८ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल उपयोग नगरी आयोजना आवश्यकता र निर्माणको प्रगतिका आधारमा खर्च गरिने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे जानकारी दिँदै उनले नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको ‘लाइन अफ क्रेडिट’ प्राप्त गरेको बताए।
उनका अनुसार उक्त ऋण मुख्यतः ऊर्जा तथा पूर्वाधार विकासमा प्रयोग गरिनेछ। विशेषगरी विद्युत् प्रसारण लाइन निर्माणमा यसको उपयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ। भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्पले विदेशी विनिमय दरको जोखिमसमेत कम गर्ने उनको भनाइ छ।
यद्यपि ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे भारतसँग प्राविधिक छलफल हुन बाँकी रहेको उनले स्पष्ट पारे।
त्यस्तै, अर्थमन्त्री वाग्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई प्रवेशमार्ग उपलब्ध हुनु नेपालको महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए। आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए।
भारतले नेपालको १२५ किलोमिटर भूमि खरिद गरेको भन्ने चर्चालाई उनले निराधार र भ्रामक भन्दै खण्डन गरे। सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना पनि सन् २००४ देखि नै नेपाल–भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको उनले बताए।
नेपाल–भारतबीच तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ दृष्टिपत्रले कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद र पर्यटनलगायत १० क्षेत्रमा सहकार्यलाई संस्थागत तथा दीर्घकालीन बनाउने उद्देश्य राखेको पनि उनले स्पष्ट पारे।














