काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बहुमत दिएकाले पाँच वर्षसम्म सरकार सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे। सरकारमा जानका लागि अन्य प्रतिपक्षी दलसँग गठबन्धन गर्ने पक्षमा कांग्रेस नरहेको पनि उनले बताए।
थापाले मुलुकका लोकतान्त्रिक संस्थाहरू कमजोर अवस्थामा रहेको उल्लेख गर्दै तिनको संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको धारणा राखे।
उनले लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाको रक्षा गर्दै जवाफदेही नेतृत्वसहितको कांग्रेस निर्माण गर्ने योजना अघि बढाइने पनि बताए।














