बाँके, ८ मंसिर । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार सोमबार बिहान करिब पौने ४ बजे झडप नियन्त्रणमा लिन प्रहरीले इन्सास राइफलबाट हवाई फायर गरेको हो।
मेलामा आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि ढुंगामुढा र अगुल्टो हानाहान भएको थियो। झडप नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक प्रहरी सहायक निरीक्षकसहित चार जना प्रहरी घाइते भएका छन्।
झडपमा एक सर्वसाधारणसमेत घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जागरण युवा क्लब चिसापानीले आयोजना गरेको मेलामा भएको घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।














