जनकपुर, ३० कात्तिक । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्व आज सम्पन्न भएको छ। शनिबारदेखि निराहार व्रत बसेका व्रतालुले आज बिहान सूर्यदेवलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन्।
धनुषासहित तराई–मधेशका विभिन्न जिल्लामा बिहानैदेखि नदी, पोखरी तथा छठघाटमा भेला भएका श्रद्धालुले उदाउँदो सूर्यको पूजा गरेका थिए। यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो।
छठ पर्वको सुरुवात चौथी तिथिमा नहाय–खाय विधिबाट भएको थियो। त्यसपछि खरना, साँझको अर्घ्य (सझियाघाट) र बिहानको अर्घ्य (भोरका अरख) सम्पन्न गरिएको हो।
पर्व समापनपछि व्रतालुले प्रसाद ग्रहण गर्नुका साथै आफन्त तथा इष्टमित्रलाई ठकुवा, भुसुवा, फलफूललगायतका प्रसाद वितरण गर्ने परम्परा छ। सूर्य उपासनाको यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरिन्छ।














