जनकपुर, २९ कात्तिक । आस्था, श्रद्धा र निष्ठाको पर्व छठ आज मुख्य दिनमा प्रवेश गरेको छ। आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्नेछन्। चार दिनसम्म मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।
छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार महाभारतकालमा पाण्डवहरूले अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ।
सूर्यलाई सम्पूर्ण जीव तथा वनस्पतिको जीवनको आधार मानिन्छ। छठमा व्रत बसेर सूर्यको पूजा गरे दुःख, दरिद्रता र विभिन्न रोगबाट मुक्ति मिल्ने तथा परिवारका सदस्यको सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ।
पर्वको विधिअनुसार पहिलो दिन स्नान गरी शुद्ध भोजन गरिन्छ भने दोस्रो दिन खरना गरी खीरसहितको प्रसाद ग्रहण गरिन्छ। तेस्रो दिन कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि रातभर जाग्राम बसेर चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुन्छ।
छठको अवसरमा जनकपुरधामका गंगासागर, अरगजासागर, गोरधोई पोखरी, पमबतीसरलगायतका जलाशयहरू सजाइएको छ। व्रतालु तथा श्रद्धालुहरूको सुविधाका लागि घाटहरूमा विशेष तयारी गरिएको छ।
पहिले तराई–मधेशका सीमित क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशभर लोकप्रिय बनेको छ। धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने भएकाले यस पर्वको महत्व अझ बढ्दै गएको छ।














