काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्।
शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफ्नो घर, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम र बीपी कोइरालाको पुर्ख्यौली घरमा आगजनी गरिएको बताए। अन्य दलका नेताहरूलाई छाडेर कांग्रेस र एमालेका नेताहरूलाई मात्रै लक्षित गरिएको भन्दै उनले यसलाई षड्यन्त्रको संज्ञा दिए।
देउवाले आफूले प्रजातन्त्रका लागि विद्यार्थी जीवनदेखि संघर्ष गर्दै साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरे। उनले बीपी कोइरालालगायत प्रजातन्त्रका लागि योगदान दिएका नेताहरूको इतिहास र पार्टीका लागि त्याग गरेका कार्यकर्ताको योगदान बिर्सन नहुने बताए।
आफू जनताको समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको सम्मान गर्नुपर्नेमा जोड दिए।














