काठमाडौं, ३० कात्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा प्राथमिकता दिन र अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन्।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उनले बैंकलाई वित्तीय अनुशासन, पारदर्शिता र सुशासन कायम राख्न आग्रह गरे।
उनले डिजिटल बैंकिङको विस्तार, संस्थागत कमजोरी सुधार, तथ्याङ्क सुरक्षा तथा सेवाग्राहीको विश्वास अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, वित्तीय क्षेत्र सुधारका लागि सरकारले अघि सारेको तीनबुँदे कार्यसूची कार्यान्वयन गर्न पनि जोड दिए।
अर्थमन्त्री वाग्लेले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार, हरित अर्थतन्त्र प्रवर्द्धन र वित्तीय साक्षरता बढाउन बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड, निक्षेप ४ खर्ब १६ अर्ब र कर्जा लगानी २ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ।
बैंकका २९ लाख २४ हजार ग्राहक र ३ हजार ६०० कर्मचारी छन्। ७१ जिल्लामा शाखा विस्तार गरेको बैंकका २५० एटीएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको छ।














