काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा रहेका जातीय, वर्गीय र लैङ्गिक विभेद तथा सामाजिक कुरीति अन्त्य गर्दै राष्ट्रिय एकता र सद्भाव मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मौलिक संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धिमा योगदान पुर्याउने बताएका हुन्।
उनले सूर्य, जल र पृथ्वीको पूजा आराधना गरिने छठले प्रकृतिप्रतिको सम्मान, वातावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश दिने उल्लेख गरेका छन्।
तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत विस्तार हुँदै जानु सकारात्मक भएको राष्ट्रपति पौडेलको भनाइ छ।
उनले छठ पर्वले नेपाली समाजमा विद्यमान विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वाससहित सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।














