काठमाडौं, २७ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १९ सदस्यीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गते चीन भ्रमणमा जाने भएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने टोलीले चीनमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता र राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल गर्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
रास्वपाले भ्रमणलाई नेपाल–चीनबीच राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मीलगायत १९ जना सहभागी हुनेछन्।














