काठमाडौं, २७ कात्तिक । दीपावली सकिएसँगै मिथिलाञ्चलमा आस्था र निष्ठाको पर्व छठ सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट पर्वको सुरुवात गर्दैछन्।
छठ पर्वको दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुन्छ।
सूर्यदेव र छठीमाताको उपासना गरिने यस पर्वका लागि मिथिलाका गाउँदेखि सहरसम्म तयारी तीव्र पारिएको छ। नदी, पोखरी तथा जलाशयका घाट सरसफाइ र सजावटमा स्थानीयवासी तथा युवाहरू जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने सडक र सार्वजनिक स्थलमा समेत आकर्षक बत्ती जडान गरिएको छ।
सामाजिक सद्भाव र समानताको प्रतीक मानिने छठमा जातीय तथा सामुदायिक भेदभावबिना सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर पूजा गर्ने परम्परा छ। श्रद्धा, पवित्रता र पारिवारिक सुख–समृद्धिको कामनासहित मनाइने यस पर्वले मिथिलाको वातावरण उल्लासमय बनेको छ।














