मकवानपुर, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकाको ज्यान गएको छ। घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन्।
बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।
गाडीमा चालकसहित १५ जना सवार रहेको खुलेको छ। दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा बागमती प्रदेश विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो।














