जनकपुर, २६ कार्तिक । मिथिलाको मौलिक लोकसंस्कृति, परम्परा तथा मैथिली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा सामा–चकेवा प्रतियोगिता आयोजना हुने भएको छ।
मैथिली विकास कोषको आयोजनामा आगामी मंसिर ५ गते शनिबार जानकी मन्दिरको प्राङ्गणमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता अपराह्न ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार सामा–चकेवा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने मिथिलाको महत्वपूर्ण लोकपर्व हो।
आधुनिकताको प्रभावले मौलिक संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परासँग जोड्न प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए। उनले गाउँटोलमा सामा–चकेवा खेल्दै आएका समूहलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्।














