काठमाडौं, २६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायको तयारी पर्याप्त नरहेको बताएका छन्।
जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए पुगेका मन्त्री खनालले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा विपद्पछिको उद्धारमा सहयोग प्राप्त भए पनि दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन कठिन भइरहेको बताएका हुन्।
उनका अनुसार गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक छ। संयुक्त राष्ट्रसंघको नोक्सानी तथा क्षति कोषबाट २ करोड डलर उपलब्ध गराउने निर्णय भए पनि रकम प्राप्त गर्ने प्रक्रिया सुस्त रहेको उनले बताए।
खनालले नेपाल र भुटानले हिमाली क्षेत्रका जलवायु समस्यालाई सम्मेलनको आधिकारिक एजेन्डामा समावेश गराउन नसकेकोप्रति पनि असन्तुष्टि जनाए। तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा प्राकृतिक विपद्को जोखिम थप बढ्ने उनको चेतावनी छ।














