जनकपुर, २६ कार्तिक । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शवगृह नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार अस्पतालको पछाडिपट्टि शवगृह नजिकै सदाको शव भेटिएको हो। उनी केही दिनदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेपछि प्रहरीले खोजी गरिरहेको थियो।
प्रहरीका अनुसार सदाकी श्रीमती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। उनी श्रीमतीका लागि घरबाट खाना लिएर विगत पाँच दिनदेखि नियमित अस्पताल आउने गरेका थिए। तर, पछिल्लो तीन दिनदेखि उनी अचानक सम्पर्कविहीन भएका थिए।
खोजतलासका क्रममा अस्पताल परिसरमै उनको शव भेटिएपछि घटनाले नयाँ रहस्य सिर्जना गरेको छ। मृतकका परिवारले उनको मृत्यु स्वाभाविक नभई हत्या भएको हुन सक्ने आशंका गरेका छन्। परिवारजनले मृतकको आँखा र मिर्गौलासमेत निकालिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले प्रादेशिक अस्पताल परिसरमा घेराउ गर्दै नाराबाजी गरेका थिए। उनीहरूले मृत्युको वास्तविक कारण सार्वजनिक गर्न, शवको अवस्थाबारे स्पष्ट जानकारी दिन र घटनामा संलग्न दोषीलाई पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्।
यता, प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। शव परीक्षण तथा विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण र घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।














