काठमाडौं, १५ कात्तिक । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
शनिबार बिहान करिब ११:३० बजे फोहोर सफा गर्ने क्रममा जमिनमा गाडिएको पुरानो सकेट बमजस्तो वस्तु पड्किँदा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्।
प्रहरीका अनुसार विस्फोटबाट नजवाको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने हैदरको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र स्थानीय जितु मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि सीमा प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। जमिनमा पुरिएको पुरानो शंकास्पद वस्तु चलाउँदा विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














