काठमाडौं, १५ कात्तिक । बंगालको खाडीमा अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गर्दा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। यद्यपि, यो प्रणाली अर्नबको तुलनामा कमजोर रहेको र नेपालमा ठूलो प्रभाव पार्ने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्।
भारतको मौसम विज्ञान विभागका अनुसार नयाँ प्रणाली नोभेम्बर १ (कात्तिक १५) सम्म गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुने र त्यसपछि चक्रवाती आँधीको रूप लिन सक्नेछ। नोभेम्बर ३ मा दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ।
आँधी जमिनमा पुग्दा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर र झोक्कासहित १२० किलोमिटरसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
तर, भारतको मौसम विश्लेषण गर्ने संस्था स्काईमेटका अनुसार यो प्रणाली अर्नबभन्दा कमजोर हुनेछ। अर्नब चक्रवातले बंगालको खाडीबाट जमिनसम्म पुग्न सात दिन लगाउँदा पर्याप्त जलवाष्प संकलन गरेको थियो। नयाँ प्रणाली भने करिब तीन दिनमै जमिनमा पुग्ने भएकाले यसबाट अर्नबजस्तो भारी वर्षा हुने सम्भावना कम रहेको विश्लेषण गरिएको छ।
यसअघि अर्नबको प्रभावले नेपालमा कात्तिक १२ देखि १४ गतेसम्म वर्षा र हिमपात भएको थियो। नयाँ प्रणालीको प्रभाव नेपालमा पर्ने वा नपर्ने विषयमा भने अझै स्पष्ट भइसकेको छैन।
भारतीय मौसमविद्हरूले नेपालसँग सीमा जोडिएको बिहारसम्म यसको प्रभाव देखिन सक्ने बताएका छन्। यता, नेपालको मौसम पूर्वानुमान महाशाखाले पनि प्रणालीको अवस्थाबारे निगरानी गरिरहेको छ।
महाशाखाका मौसमविद् डेभिड ढकालले नयाँ प्रणालीबाट नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहेको बताएका छन्। उनका अनुसार तत्कालका लागि यसले उल्लेख्य मौसमी असर गर्ने देखिएको छैन।














