काठमाडौं, १५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगर पालिकाका वडामा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको उम्मेदवार छनोट समन्वय समितिको बैठकले उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।
जसअनुसार क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकासमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई संयोजकको जिम्मेवारी दिइएको छ।
पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार महानगरपालिका तथा उप महानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिले क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्नेछन्।














