जनकपुर, ९ कार्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–७ तारापट्टीमा एक होटल सञ्चालकमाथि कुटपिट भएको छ। तारापट्टीस्थित आदर्श होटलका सञ्चालक पुनेप्रताप साह सुडीमाथि कुटपिट भएको हो।
प्रहरीका अनुसार शनिबार राति होटलमा नास्ता खाएपछि पैसाको विषयलाई लिएर विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा बलराम साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।
कुटपिटबाट घाइते भएका पुनेप्रताप साहको जनकपुरधामस्थित एक अस्पतालमा उपचार भइरहेको उनका आफन्तले बताएका छन्। कुटपिटबाट घाइते भएका पुनेप्रतापको टाउकोमा ३६ वटा चोट लागेको पीडितका आफन्तले बताएका छन्।
घटनापछि पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। होटलमा सामान्य आर्थिक विषयलाई लिएर भएको विवादले कुटपिटको रूप लिएपछि घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने पीडित पक्षको जोडदार माग छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ।














