काठमाडौं, ९ कात्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा निता बगालेसहित ६ जनाको मृत्यु भएको हो। मृत्यु हुने अन्यमा चालक दिलिप कुमार बगाले, शिव पराजुली, लोकनाथ पाण्डे, सिता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।
दुर्घटनामा घाइते भएका छविलाल पाण्डे, गोमता पाण्डे र बालकृष्ण सुवेदीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। छविलालको अवस्था गम्भीर रहेको छ भने अन्य दुई घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।














