काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाउँदा अनिल खरेल १७ रनमा अविजित रहे।
लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट लिए।
यस खेलसँगै एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको छ। मंगलबार विराटनगर किंग्स र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ।














